Follow Us
FNJ Bagamati नेपाल पत्रकार महासंघ, बागमती प्रदेश

प्रभावित पत्रकारलाई महासंघको आर्थिक सहयोग

भदौ २५, २०८३

मकवानपुर : प्रकृतिको क्रूर रूप कतिसम्म निर्मम हुन सक्छ भन्ने ज्वलन्त उदाहरण रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीले देखाइदिएको छ । नदी उर्लियो, बस्ती बगायो, घरबार उजाडिए । धेरै परिवारका सदस्य सम्पर्कविहीन भए । नागरिकका दुःख र पीडा शब्दमा उतार्ने पत्रकारहरू समेत यो विपत्तिबाट अछुतो रहन सकेनन् । त्यसमध्ये सबैभन्दा गहिरो पारिवारिक क्षति व्यहोर्ने पत्रकारमध्येका एक हुन्, निराजन पौडेल ।

भोटेकोशीको त्यो बाढी निराजनका लागि प्राकृतिक विपत्ति मात्रै रहेन । त्यो उनको जीवन नै तहसनहस पार्ने कालो दिन बन्यो । बाढीले उनका बुवा, आमा, काका, काकी र बहिनीसहित परिवारका पाँच सदस्यलाई एकैपटक खोस्यो । परिवारका सदस्यसँगै शिरमाथिको घर र सम्पत्तिसमेत बाढीले बगायो ।

रसुवाका पत्रकार पौडेल अहिले आफन्त गुमाएको शोकमा काठमाडौंको टोखामा किरियामा बसेका छन् । आफन्त गुमाउनुको पीडा, घरबार गुमाउनुको पीडा र एकैपटक सिंगो संसार उजाडिएको अनुभूति उनका लागि शब्दमा व्यक्त गर्न कठिन छ ।

पौडेल रातोपाटी अनलाइनमा कार्यरत पत्रकार तथा नेपाल पत्रकार महासंघ रसुवा शाखाका सदस्य हुन् । उनको स्थायी घर नुवाकोटको विदुर नगरपालिका–७, तुप्चे हो । रोजगारीका क्रममा काठमाडौँमा रहेर पत्रकारिता गर्दै आएका पौडेलको परिवारलाई भोटेकोशीको बाढीले ठूलो क्षति पुर्‍याएको हो ।

यही असह्य पीडाका बीच सहकर्मी पत्रकारको साथ र सहयोग लिएर नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति पौडेलसम्म पुगेको छ । महासंघले पौडेलसहित बाढी प्रभावित पत्रकार तथा उनीहरूका परिवारलाई आर्थिक सहयोग गरेको हो ।

महासंघका अनुसार बाढी प्रभावित पत्रकारहरू रसुवाका निराजन पौडेल, नुवाकोटका किरण अधिकारी, सन्नी श्रेष्ठ, धादिङका विपिन मल्ल र नुवाकोटका बेपत्ता पत्रकार राजकुमार नेपालीका परिवारलाई आर्थिक सहयोग गरिएको छ । प्रभावित पत्रकार तथा परिवारको अवस्था हेरी सम्बन्धित शाखामार्फत तथा प्रत्यक्ष भेटेर सहयोग रकम हस्तान्तरण गरिएको महासंघले जनाएको छ ।

महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारू मगरको अगुवाइमा नुवाकोट शाखाका अध्यक्ष रामहरि गजुरेल, रसुवा शाखाका अध्यक्ष केशव पौडेल, धादिङ शाखाका अध्यक्ष सिताराम अधिकारीलगायतको समन्वयमा प्रभावित पत्रकारहरूलाई भेटेर सहयोग गरिएको हो ।

बाढीले पत्रकारका घरपरिवारमा मात्रै क्षति पुर्‍याएको छैन, उनीहरूले काम गर्ने सञ्चारमाध्यमसमेत प्रभावित भएका छन् । कतिपय स्थानमा सडक तथा यातायात अवरुद्ध हुँदा समाचार संकलनमा कठिनाइ भएको छ । विद्युत् र इन्टरनेट सेवा प्रभावित हुँदा समाचार सम्प्रेषणमा समस्या भएको छ भने सञ्चार उपकरणमा समेत क्षति पुगेको महासंघले जनाएको छ ।

महासंघ अध्यक्ष मगरले विपद्को समयमा आफ्नो ज्यान जोखिममा राखेर नागरिकलाई सूचना प्रवाह गरिरहेको अवस्थामा बाढीबाट प्रभावित पत्रकारको सुरक्षा, सञ्चार सेवा, आवश्यक उपकरण तथा राहत र उद्धारका विषयमा सम्बन्धित निकाय गम्भीर बन्न आवश्यक रहेको बताउनुभयो।

पत्रकार महासंघ सबै पत्रकारको अभिभावक संस्था भएकाले विपद्मा परेका पत्रकारको पुनःस्थापना, बेपत्ता पत्रकारहरुको खोजीका लागि आफूहरुले भूमिका खेलिरहेको सचिव काजी श्रेष्ठले बताउनुभयो।

महासंघले रसुवा, नुवाकोट र धादिङमा बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । साथै बाढीमा फसेकाहरूको उद्धार, बेपत्ताको खोजी तथा घाइतेको उपचारलाई प्रभावकारी बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।