• प्रकाशितः जेष्ठ १९, २०८३

धुलिखेल, १२ बैशाख / ‘खोजमूलक पत्रकारिता तथा एआईको प्रयोग’ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको आयोजना तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशको समन्वयमा धुलिखेलमा दुईदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त अवसरमा बोल्दै महासंघका अध्यक्ष कृष्ण सारु मगरले पत्रकारितामा नयाँ प्रविधि र खोजमूलक अभ्यासको महत्वमा जोड दिएका थिए । उनले परम्परागत शैली मात्र पर्याप्त नहुने र आधुनिक प्रविधिसँगै गहिरो अनुसन्धानमुखी पत्रकारिता आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रममा सञ्चार क्षेत्रका विभिन्न चुनौती, विशेषगरी विज्ञापन वितरण प्रणाली, साना तथा स्वरोजगारमुखी मिडियाको अवस्था र निष्पक्ष प्रणालीको आवश्यकता बारे पनि छलफल गरिएको थियो । महासंघले उठाएका विषयमा सरकार सकारात्मक रहेको जानकारी गराइएको थियो ।

कार्यक्रमका सभाध्यक्ष तथा सामाजिक विकास मन्त्रालयका सचिव खुविराम अधिकारीले तालिमबाट प्राप्त सीप व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिएका थिए । उनले आगामी दिनमा यस्ता कार्यक्रम अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले सामाजिक सञ्जालको प्रभाव बढ्दै गएको सन्दर्भमा पत्रकारिता सशक्तीकरण कार्यक्रम आवश्यक रहेको धारणा राखे ।

दुई दिने तालिममा सरिता दाहाल, नितु पण्डित र अजय शर्माले विभिन्न विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा बागमती प्रदेशका १३ जिल्लाबाट २१ जना महिला पत्रकारको सहभागिता रहेको थियो ।