• प्रकाशितः जेष्ठ १९, २०८३

मकवानपुर, १७ बैशाख । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, बागमती प्रदेशको आयोजनामा तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेश र मकवानपुर शाखाको सहकार्यमा सञ्चालित पत्रकार तथा सञ्चारकर्मीहरूको डिजिटल पत्रकारिता तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।

मकवानपुरको कुलेखानीमा दुई दिनसम्म सञ्चालन भएको तालिममा पत्रकारितामा डिजिटल प्रविधि र एआईको प्रयोग, तथ्य परीक्षण, सामग्री उत्पादन तथा बदलिँदो सञ्चार अभ्यासबारे प्रशिक्षण प्रदान गरिएको थियो।

तालिम उद्घाटनका क्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारीले पत्रकारिताको बदलिँदो अभ्याससँग अद्यावधिक हुन सञ्चारकर्मीहरूलाई आग्रह गर्दै एआईको सही र जिम्मेवार प्रयोगमार्फत पेशागत दक्षता अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका थिए। उनले लोकतन्त्र सुदृढीकरणमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै पत्रकारिता क्षेत्रको विकासमा मन्त्रालयको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका थिए।

नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्णसारु मगरले वर्तमान सन्दर्भमा मिडियाले प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताउँदै सूचना प्रविधिको तीव्र विकाससँगै पत्रकारिताको परम्परागत ढाँचा परिवर्तन गर्न आवश्यक रहेको धारणा राखेका थिए। उनले सरकारी विज्ञापन वितरणमा समानता कायम गर्न प्रदेश सरकारले समानुपातिक विज्ञापन नीति ल्याउनुपर्ने आवश्यकता समेत औंल्याएका थिए।

तालिममा विभिन्न पत्रकार संगठनका प्रतिनिधि, प्रदेश समितिका पदाधिकारी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। प्रशिक्षक शिव पुरी र अजय शर्माले सहजीकरण गरेको तालिममा सहभागीहरूले डिजिटल पत्रकारिता र एआईको प्रभावकारी प्रयोग सम्बन्धी व्यावहारिक ज्ञान हासिल गरेको आयोजकले जनाएको छ।